भएको जनशक्तीबाट पूर्ण सेवा दिन कुनै कसर बाँकी नराखेको हेटौंडा अस्पतालको स्पष्टोक्ति
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले अस्पतालले दिने सेवामा कमजोरी भएको स्विकार गर्नु भएको छ । अस्पतालमा सेवाग्राहीले विभिन्न किसिमका झन्झट बेहोर्नु परेको भन्दै चौतर्फी विरोध र धर्ना कार्यक्रम सुरु भएपछि अस्पाल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी स्पष्टिकरण दिएको हो ।
पत्रकार सम्मेलनमा मेसु सापकोटाले आवश्यक पूर्वाधारको कमी तथा दक्ष चिकित्सकको अभावका कारण अस्पतालको सेवामा कमी कमजोरी भएको बताउनुभयो । यद्यपी आफुहरुले भएको जनशक्तीबाटै पूर्ण सेवा दिन कुनै कसर बाँकी नराखेको स्पष्ट पार्नुभयो । अस्पतालमा अहिले दैनिक पाँचसयले सेवा लिइरहेको भन्दै उहाँले सोही अनुपातमा सेवा दिन केहि समस्या रहेको जिकिर गर्नुभयो ।
अस्पतालका सबै समस्या अब छिट्टै समाधान हुने भन्दै उहाँले आफ्नो टिम लागिरहेको र मकवानपुरबासीबाट पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो । हेटौंडा अस्पतालको स्तरोन्नती तथा भएका कमीकमजोरीको सुधारका लागि सर्वसाधरणबाट उठेका आवाजलाई आफुहरुले सकारात्मक रुपमा लिएको भन्दै उहाँले अझै रचनात्मक सहयोगको अपेक्षा राखेको बताउनुभयो । डाक्टर सापकोटाले साउनको अन्तिममा नयाँ भवनमा स्थानान्तरण गर्ने तयारी भइरहेकोले अस्पतालका अहिलेका थुप्रै समस्या त्यसपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालको सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको भन्दै उहाँले अहिले पनि दैनिक १५० जनाको भिडियो एक्सरे, थाइराइड लगायतका जाँचहरु भइरहेको तथा विभिन्न किसिमका अप्रेसन सेवाहरु दिइरहेको बताउनुभयो । कोरोनाको उपचारबापत पाउनुपर्ने ३ करोड र बीमाबाट उपचार गरिएको ६ करोड रुपैयाँ स्वास्थ्य विमा बोर्डबाट भुक्तानी लिन बाँकी रहेको अवस्थामा समेत सेवाग्राहीलाई व्यवस्थित र प्रभावकारी उपचार दिन अस्पताल लागिरहेको उहाँको भनाई छ ।