दोस्रो पटक पनि अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मीले जित्यो

घरेलु टोली विजय युथ क्लब २–१ गोलले पराजित
छहारी संवाददाता
जेष्ठ ३०, २०७९

विभागिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो पटक स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको उपाधी जितेको छ ।

हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा आज भएको फाइनल खेलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी दोस्रो पटक पनि च्याम्पियन बनेको हो । आर्मीका कप्तान भरत खवास र कमल थापाले गरेको गोलले आर्मीलाई उपाधी दिलाएको हो । खेलको १५औं मिनेटमा आर्मीका कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो ।

त्यसको १० मिनेटपछि घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टी मार्फत एक गोल पर्काएर खेललाई बराबरीमा पुर्याए । तर दोस्रो हाफको सुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । त्यही गोल नै आर्मीका लागि निर्णायक बन्यो । आर्मीले गत सिजन पनि विजय युथलाई दोस्रो मै सिमित गरेको थियो ।

उपाधिसंगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयाँ प्राप्त गरेको छ । मा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका कप्तान अशोक बरालले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट बाइक प्राप्त गरेका छन् ।

प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १२ टीमको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*