सरकारले दिएको अनुदान हुनेखानेको पहुँचमा सीमितः उपमेयर बानियाँ

छहारी संवाददाता
जेष्ठ २८, २०७९

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले सरकारले किसानलाई दिँदै आएको अनुदानको गलत प्रयोग भएको बताउनु भएको छ । मकवानपुर कुखुरा व्यवसायी संघको १५ औं साधारणसभालाई हेटौंडामा सम्बोधन गर्दै बानियाँले विपन्न तथा गरिव किसानको उत्थानका लागि सरकारले प्रदान गर्ने अनुदान सहि काममा प्रयोग नभएको बताउनुभयो ।

उपमेयर बानियाँले काम गर्नका लागि पुँजी नभएका वर्ग लक्षित गर्दै सरकारले दिएको अनुदान हुनेखानेको पहुँचमा मात्र सीमित रहेको औल्याउनुभयो । उहाँले काम गर्नकै लागि आर्थिक समस्या नहोस भनेर सरकारले दिएको अनुदान लक्षित वर्गसम्म पुग्न नसकेको र पहुँचमा रहेका बर्गले कृषकको केही काम देखाएर फरक ठाउँमा लगानी गरेको बताउनुभयो ।

स्थानीयस्तरको उदाहरण दिँदै उहाँले सरकारको अनुदान जग्गा जमिनको कारोवारमा केन्द्रीत बनेको बताउनुभयो । उहाँले यो प्रवृति नहटेसम्म तल्लो तहमा रहेर काम गर्ने किसान कहिलेपनि उभो नलाग्ने दाबी गर्नुभयो । उपमेयर बानियाँले अहिले पनि कुखुरा पालक किसान धरासाही रहेको बताउनुभयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजु अधिकारीले उपमहानगर क्षेत्रमा किसानको हितका लागि प्रविधी र प्राविधिक रहेको एम्बुलेन्स सञ्चालनको आवश्यकता औल्याउनुभयो । उहाँले उपमहानगरले किसानको हितका लागि अण्डा र दूधको प्रयोगलाई बढाउने काममा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

संघका अध्यक्ष गोकुलनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन नवलपुर दाना तथा अण्डा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघका केन्द्रीय सदस्य बिनोद पोखरेल, नेपाल अण्डा उत्पादन सघका उपाध्यक्ष किरणभूषण ओली लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*