काठमाण्डौ महानगरलाई फोहरमुक्त सहर बनाउने अभियानमा साथ दिन सम्पूर्ण नगरवासीलाई गगन थापाको आग्रह

छहारी संवाददाता
जेष्ठ २५, २०७९

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाण्डौ महानगरपालिकाको फोहरमुक्त सहर बनाउने अभियानलाई सक्रिय रूपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद थापाले भन्नुभयो, ‘काठमाण्डौको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाण्डौ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु ।’

सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानअनुसार स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ । फोहरमुक्त काठमाण्डौ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाले सङ्घ–संस्थाको साथमा काम अघि बढाउन पनि उहाँको आग्रह छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*