मकवानपुरमा जन्मिएर विभिन्न पेशामा रहि योगदान गर्ने तीन व्यक्तिलाई रोटरीद्वारा नगदसहित सम्मान
रोटरी क्लब अफ हेटौंडाले तीन जनालाई सम्मान गरेको छ । रोटरी शनिबार एक कार्यक्रमको आयोजना गरि मकवानपुरमा जन्मिएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका व्यक्तिहरुलाई भोकेस्नल एक्सिलेन्स अवार्ड मार्फत सम्मान गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ का कारण रोकिएको अवार्डहरु पनि आजै प्रदान गरिएको छ । भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट न्युरो सर्जन डाक्टर गोपालरमण शर्मा, सन २०२१ को एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र २०२२ को मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर प्रेमराज वैद्यलाई सम्मान गरिएको हो ।
नेपाल हर्ट फाउन्डेसनका प्रमुख डाक्टर वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुनुहुन्छ । अवार्ड प्राप्त गर्ने सबैले नगद २५ हजार राशी समेत प्राप्त गर्नु भएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले रोटरीले स्वास्थ्य र शिक्षामा सेवा प्रवाह गर्दै आइरहेको प्रति धन्यवाद दिदैं प्रदेश सरकारले हेटौंडा अस्पताललाई चाहिने इकुमेन्ट खरिद गर्ने बताउनुभयो ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष, रोटरीका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।