सुर्तिजन्य पदार्थ प्रयोग नगरौं, बालबालिकालाई खरिद गर्न नपठाउः प्रदेश स्वास्थ्यमन्त्री लामा

विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा हेटौंडामा प्रभातफेरी आयोजना
छहारी संवाददाता
जेष्ठ १७, २०७९

‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज हेटौडामा पनि विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवस मनाईएको छ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरि यो दिनवस मनाइएको हो । दिवसका अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्दै बालबालिकालाई खरिद गर्न पठाउने अभिभावकहरुलाई यस्तो कार्यबन्द गर्न समेत अनुरोध गर्नु भएको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र बजेट ल्याउने तयारीमा रहेकाले स्वास्थ्य र शिक्षामा बजेट राखेर समाजलाई सुर्तिजन्य पदार्थ रहित बनाउने उहाँको भनाई छ । हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारपरिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो ।

प्रभातफेरीमा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसले निम्त्याउन सक्ने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गरेको छ ।

नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । नेपालमा पछिल्लो समय सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*