आज र भोलि ७७ वटै जिल्लामा मतदाता परिचयपत्र वितरण गरिने

मतदातालाई भोट हाल्न पनि सिकाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोगको निर्देशन
छहारी संवाददाता
बैशाख २८, २०७९

निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भाेट हाल्ने तरिका सिकाउने भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ । आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि पर्सि बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान गर्न आउन आग्रह गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु  पर्नेछ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा  कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ ।

गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरे छि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको चुनाव चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएमा पनि त्यो मत बदर हुन्छ ।

स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा पनि मत बदर हुन्छ । यस्तै, दुईवटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा पनि  मत बदर हुने आयोगले जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*