स्थानीय तह निर्वाचनः पाँच दलीय गठबन्धनको चुनावी प्रतिवद्धता

छहारी संवाददाता
बैशाख २१, २०७९

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । हेटौंडा रिसोर्टमा मंगलबार एक कार्यक्रमकाबीच प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

प्रतिवद्धतापत्रमा उपमहानगरपालिकाबासीलाई ३ सय युनिटसम्मको बिजुली निशुल्क प्रदान गर्नेदेखि प्रत्यक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्युन मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निशुल्क गर्ने पनि घोषणा गरिएको छ । हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ । हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको जनाएका छन् ।

नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ । धार्मिक क्षेत्रहरुको सुधार तथा पर्वद्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले ध्यान दिएक छन् । भोकाहरुकोे खानाको व्यवस्थापन गर्ने पनि प्रतिवद्धता जनाइएको छ । नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध बनेको छ भने नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।

प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार मीना लामा, उपमेयर पदका उम्मेदवार राजेश बानियाँ, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीका नेता केदार न्यौपाने, विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकी नेतृ प्रमिला पुलामी, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामालगायतको उपस्थिति रहेको थियो । साभारः जनपत्र डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*