मकवानपुरका महिला पत्रकारलाई अभिमुखिकरण
सञ्चारिका समूह मकवानपुरको आयोजनामा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारलाई अभिमुखिकरण दिइएको हो ।
निर्वाचनको समयमा समाचार संकलनको प्रावधिक ज्ञान दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट र मकवानपुरका मुख्य निर्वाचन आयुक्त डिल्लीरत्न श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पत्रकार विष्टले पत्रकारले दोहोरो भूमीका निभाउन नहुने बताउनुभयो । समाचार लेख्ने क्रममा पत्रकार तटस्थ रही दलको प्रभावमा नपरी सत्य तथ्य समाचार सम्प्रेषण गर्न उहाँले अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले पत्रकार, सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवारले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचारसंहिताको बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले पत्रकारले निर्वाचन आचारसंहिताको पालना गर्दै मतदातामा सत्य तथ्य सूचना सम्प्रेषणमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अन्जली थापा लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरुको उपस्थिति थियो । पत्रकारलाई निर्वाचन सम्बन्धी रिपोर्टिङबारे अभिमुखिकरणपछि समाचार लेखनमा थप सहजता हुने सहभागिले बताएका छन् ।