नयाँ वर्षको शुभकामना आदानप्रदान तथा मकवानपुरका पत्रकार महिलालाई स्यानेटरी प्याड हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल पत्रकार महासंघ मकवानपुरले नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा मकवानपुरका पत्रकार महिलालाई स्यानेटरी प्याड हस्तान्तरण कार्यक्रम गरेको छ ।
बुधबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी महासंघले सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजाललाई स्यानेटरी प्याड हस्तान्तरण गरेको हो । औषधी व्यवसायी संघ मकवानपुरको सहयोगमा पत्रकार महासंघले नियमित रुपमा निशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने छ ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले पत्रकार महिलालाई सुत्केरी भत्ता दिने योजना रहेको बताउँदै पत्रकारहरुको माग अनुसार फिचर लेखन तथा भिडियो सम्पादन तालिम पनि गर्ने योजना रहेको सुनाउनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल गौतमले मानवीय संवेदनाको विषय भएकाले सञ्चारगृहहरुमा अनिवार्य स्यानेटरी प्याड उपलब्ध गराउन पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष सम्झना कार्कीले पत्रकार महिलाको लागि भएको राम्रो कार्यको प्रसंशा गर्दै सकारात्मक धारणा विकास भएको बताउनुभयो । यस्तै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले महिला पत्रकारहरुमा हुने विभिन्न समस्याहरुमा एउटा समस्यालाई हल गर्न सहयोग पुगेको बताउनुभयो । पुरुष र महिलाको साथ तथा सहयोगले महिला पत्रकारहरुलाई अघि बढ्न प्रेरणा मिल्ने उहाँको धारणा रहेको छ ।
सञ्चारिका समूह मकवानपुरका संयोजक सरिता दाहालले पत्रकार महिलाहरुले स्यानेटरी प्याड किन्न नसक्ने अवस्था नहरेको भन्दै पुरुष र महिलाको समन्वयलाई मात्र अपनत्व गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला उपाध्यक्ष ध्रुव अधिकारी प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस चौतारी मकवानपुर सचिव रुपक कालिराज, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिव चौलागाईं लगाएतका संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।