प्रधानमन्त्रीद्वारा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान उद्घाटन, भोलीदेखि देशभर सुरु हुने

छहारी संवाददाता
चैत्र २४, २०७८

टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको आज औपचारिक उद्घाटन गर्नुभएको छ ।विश्व स्वास्थ्य दिवसका अवसरमा काठमाण्डौको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गर्नु भएको हो।

आउँदो वैशाख १८ गतेसम्म चल्ने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइनेछ । यो उमेर समूहका झन्डै ७५ लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ। सरकारी स्तरबाट दक्षिण पूर्वी एसियामा नै पहिलो पटक नेपालमा यो खोप दिन लागिएको हो ।

टाइफाइड विरुद्धको खोपलाई सरकारले नियमित खोप कार्यक्रममा नै समेट्दै छ । नियमित खोप कार्यक्रम अन्तर्गत १५ महिना पुगेका बालबालिकालाई खोप दिइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार १५ महिनादेखि १५ वर्ष समूहमा टाइफाइडको जोखिम उच्च हुने भएकाले अभियानमा यो समूहलाई समेट्न लागिएको हो । यो खोप पूर्णरुपमा सुरक्षित रहेकाले खोप अभियानमा नछुट्न पनि सरकारले आग्रह गरेको छ । राष्ट्रिय खोप अभियानका रुपमा भोलिदेखि सुरु हुने भए पनि केही जिल्लामा भने टाइफाइड विरुद्धको खोप लगाउन सुरु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*