बागमती प्रदेशमा २ सय ४९ जना कुष्ठ रोगी
बागमती प्रदेशमा २ सय ४९ जना कुष्ठ रोगी भएको तथ्याङ्कले देखाएको छ ।स्वास्थ्य निर्देशनालय हेटौंडामा क्षयकुष्ठ अधिकृत जितेन्द्र कर्णका अनुसार बागमती प्रदेशमा प्रकोप दर ०.३८ प्रति दश हजार रहेकोे छ । बागमती प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय ३० जना कुष्ठरोगी रहेका छन् ।
यता, मकवानपुर जिल्लामा १७ जना नयाँ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको छ महिनामा १७ कुष्ठरोगी थपिएका हुन । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार १० जना पुरुष र ७ जना महिलामा कुष्ठरोग देखिएको हो । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिमा ७ जना कुष्ठरोगी रहेका छन् । मनहरी र बकैया गाउँपालिकामा तीन–तीन जना कुष्ठरोगी रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै, कैलाशमा २ जना, बाग्मती र भिमफेदी गाउँपालिकामा एक–एक जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग फोकल पर्सन ठाकुर पौडेलका अनुसार मकवानपुर जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । उहाँका अनुसार प्रति दश हजार जनामा १ भन्दा कममा कुष्ठरोग देखिए निवारणको अवस्था मानिन्छ ।
हालको तथ्यांक अनुसार जिल्लामा प्रकोप दर ०.३७ रहेको छ । गत आवमा जिल्लामा १९ जना कुष्ठरोगी रहेका थिए । कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्ष सम्म औषधि खानपर्ने हुन्छ । आइतबार “शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्म सम्मानका लागि ऐक्यबद्धता” भन्ने नाराका साथ ६९ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिएको छ ।