सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा कोरोनाविरुद्धको खोप अभियान शुरु
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरमा आइतबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । खोप अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गर्नुभएको हो ।
खोप अभियान शुभारम्भ गर्दै मन्त्री लामाले सर्वसाधारण कोरोनाविरुद्धको खोप खोज्दै भौतारिने भन्दा पनि खोप अभियान समुदायमै पुग्नुपर्छ भन्ने अवधारणाका साथ प्रदेश सरकार अभियानमा लागेको बताउनुभयो । उहाँले सरकारको प्रयासमा सरकारी निकायसंगै सामाजिक संघसंस्था र नागरिक समाजको सहकार्यले चैतसम्ममा सबैलाई खोप लगाउने सरकारको अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सबैको सहकार्यबाट कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा सहयोग हुने भएकाले खोप नलगाउनु भएका सबैलाई खोप अभियानमा सहभागिताका लागि मन्त्री लामाले आग्रह गरे । स्थानीय प्रशासन, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका क्षेत्रले खोप अभियानमा देखाएको सक्रियताको मन्त्री लामाले प्रशंसा गरे ।
सेवा केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सामाजिक एवं राजनैतिक व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
तीन दिनसम्म समुदाय सेवा केन्द्रको खोप अभियानमा सर्वसाधारण, पूर्वप्रहरी, फ्रन्टलाईनर, औद्योगिक क्षेत्र प्रवेश गर्ने सवारी चालक लगायतलाई कोरोनाविरुद्धको खोप लगाइने सेवा केन्द्रका पूर्व अध्यक्ष कुमार पौडेलले जानकारी दिनुभो । उहाँले आवश्यकता अनुसार अभियान संचालनको अवधी थपिने समेत बताउनुभयो ।