शुक्रबारदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य
सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।
आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन, उज्यालो अनलाइनमा समाचार छ । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।
खोप केन्द्र नथपिँदा केन्द्र नै सङ्क्रमणस्थल जस्तो बन्न थालेकाले टोलटोलमा खोप पुर्याउनुपर्ने विज्ञहरुको भनाइ छ । खोप कार्ड अनिवार्य गर्नुअघि घरदैलो तथा टोलटोलमा खोप पुर्याउन आवश्यक रहेको जनस्वास्थ्यवि्द डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।
कुल जनसङ्ख्याको आधाभन्दा धेरैले पूर्ण खोप नलगाउँदासम्म यो नियम अव्यावहारिक हुने उहाँको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।