राक्सीराङमा प्रजनन् स्वास्थ्य सम्बन्धि शिबीर संचालन
सानै उमेरमा विवाह गर्ने र लगातार सन्तान जन्माउनुपर्ने बाध्यता मकवानपुरको राक्सिराङ गाउँपालिकाका महिला र किशोरीहरुको नियती नै हो ।
परिवार नियोजनको अस्थाई र स्थायी साधनमा पहुँच नहुँदा यसक्षेत्रका महिला र किशोरीहरुको प्रजनन् स्वास्थ्यमा समस्या देखिँदै आएको छ । पश्चिम मकवानपुरको विकटका महिला र किशोरीहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन राक्सीराङ गाउँपालिकाले नेपाल परिवार नियोजन संघसंगको सहकार्यमा गाउँमै घुम्ती शिबीर आयोजना गरेको हो ।
शिविरमा यस क्षेत्रका ८३ जना महिलाले अस्थाई साधन ईम्प्लान्ट र आयुसिडि लगाए । ३७ जना महीलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको थियो । रक्सिराङको सरिखेत, देवीटार र काँकडा स्वास्थ्य चौकीमा तीनदिनसम्म शिविर भएको हो । नेपाल परिवार नियोजन संघ मकवानपुरले शुक्रबार पुरुषको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी शिविर सञ्चालन गर्ने बताएको छ ।