मकवानपुरमा अंग्रपङ्तीमा रहेर काम गर्नेहरुलाई मंगलबारबाट बुस्टर खोप दिन सुरु
मकवानपुरमा अंग्रपङ्तीमा रहेर काम गर्नेहरुलाई आजबाट बुस्टर खोप लगाईएको छ ।
दुवै खोप पूरा गरेका अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर खोप लगाईएको हो । गोरक्षेश्वर खोप केन्द्रमा पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वयंसेविकालाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।
कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएको ६ महिना पुरा भएकालाई मात्र बुस्टर डोज खोप लगाउन मिल्ने स्वास्थ्यकर्मी बताउँछन् । मकवानपुरमा माघ १४ देखि ६० बर्ष माथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई वुस्टर डोज खोप लगाउने स्वास्थ्य कार्यालयको तयारी छ ।
खोप उपलब्ध भए अन्य व्यक्तिलाई समेत बुस्टर डोज खोप प्रदान गर्ने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आजबाटै मकवानपुरका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका लक्षित खोप मोर्डनाको दोस्रो मात्रा पनि सञ्चालन भइरहेको छ ।