कोरोना अपडेट: मकवानपुर प्रशासनको १६ बुँदे निर्देशन
कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज राति १२ बजेदेखि लागू हुने गरी १६ बुँदे आदेश जारी गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विज्ञप्ति मार्फत उक्त आदेश जारी गर्नुभएको हो । प्रजिअ पाण्डेद्धारा जारी आदेशमा कुनै पनि भेला, जुलुस, आमसभा जस्ता भीडभाड हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ ।
शिक्षण संस्था माघ १५ गतेसम्म बन्द गर्ने, माघ ७ गतेसम्म सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न पनि आग्रह गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी प्रजिअ पाण्डेले उक्त आदेश जारी गर्नुभएको हो ।