ओमीक्रोन, डेल्टा भन्दा कमजोर तर खोप नलगाउनेलाई खतरनाकः डब्लुएचओ

छहारी संवाददाता
पुस २९, २०७८

ओमीक्रोन भेरियन्ट संक्रमितलाई गम्भीर बिरामी बनाउने मामलामा डेल्टा भन्दा कमजोर रहेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को भनाइ छ ।  डब्लुएचओको बुधबारको प्रेस ब्रिफिमा बोल्दै महानिर्देशक ट्रेडोस अडानोम गेब्रियससले खोप नलगाउनेका लागि भने ओमीक्रोन खतरनाक रहेको बताएका छन् ।

डब्लुएचओ महानिर्देशक ट्रेडोसका अनुसार विश्वका ९० प्रतिशत भन्दा बढी मुलुकमा ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य पूरा हुन सकेको छैन । अफ्रिकी महादेशका ८५ प्रतिशत जनसंख्याले अहिलेसम्म एक डोज पनि खोप पाएका छैनन् । यस कारणले पनि ओमीक्रोनको जोखिम उच्च रहेको उनको भनाइ छ,हेल्थपाटी डटकममा समाचार छ ।

‘हामीले यो भारसलाई स्वतन्त्ररुपमा उकालो लाग्ने अनुमति दिनुहुँदैन, अर्थात सेतो झण्डा फहराउनु भएन’ महानिर्देशक ट्रेडोस भन्छन्, ‘जब विश्वभरमा यति धेरै मान्छे खोपबिहीन छन्।’ विश्व स्वास्थ्य संगठनले मंगलबार जारी गरेको आफ्नो साप्ताहिक रिपोर्ट अनुसार जनवरी देखिको अघिल्लो सातामा विश्वमा कोभिड संक्रमणको केस ५५ प्रतिशतले वृद्धि भयो । यो भनेको करिब १ करोड ५० लाख हो।

यो महामारी सुरु भएयता एकसातामा वृद्धि अहिलेसम्मकै धेरै संख्या हो । ओमीक्रोनको स्पाइकले संक्रमण तीब्र गतिमा फैलिएको र विश्वका हरेक देशमा यसले डेल्टालाई विस्थापन गरिरहेको महानिर्देशक ट्रेडोसले बताए।

अहिले ओमीक्रोन संक्रमण भएर जतिपनि अस्पतालमा भर्ना भएका छन् । तिनीहरु अधिकांश खोप नलगाएका व्यक्ति भएको पनि उनले जानकारी दिएका छन्। ओमीक्रोन संक्रमणलाई बेलैमा अंकुश लगाउन नसकिएको खण्डमा अर्का नयाँ भेरियन्टको जन्म हुने र त्यो धेरै संक्रामक र धेरैको ज्यान दिने खालको पनि हुनसक्ने चेतावनी महानिर्देशक ट्रेडोसले दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*