पृथ्वी जयन्तीलाई नेपाल दिवसका रुपमा मनाउन विवेकशील साझा पार्टीको माग
विवेकशील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई नेपाल दिवसका रुपमा मनाउनु पर्ने माग गरेको छ ।
रवीन्द्र मिश्र नेतृत्वको पार्टीले मंगलबार विज्ञप्ति जारी गरी पुस २७ गतेलाई नेपाल दिवसका रुपमा मनाउन सरकारसंग माग गरेको हो । संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने भन्दै विवेकशील साझा पार्टीले विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।’ पार्टी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन पनि माग गरेको छ । अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न पनि माग गरेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने तयारी गरेको छ । सो यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुने जनाइएको छ ।