मकवानपुर प्रशासनद्वारा युनिलिभरको साँढे ७३ टन चियापत्ति नष्ट (तस्वीरहरु)

छहारी संवाददाता
पुस १९, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले युनिलिभर नेपाल लिमिटेडको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति नष्ट गरेको छ ।

प्रशासनले म्याद गुज्रिएको चियापत्ति सोमबार साँझ हेटौंडा –१० राप्ती खोला स्थित डम्पिङ साइडमा खाल्डो खनी पुरेको हो । नष्ट गरिएको चियापत्तिको बजार मूल्य १ करोड ७९ लाख ९० हजार ८४० रुपैयाँ रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा प्रशासनले हेटौंडा –३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट बरामद गरेको ७३ हजार ५५६ किलो म्याद गुज्रिएको चियापत्ति बरामद गरेको थियो ।

खाद्यले गत भदौ १५ गते उद्योग अनुगमनका क्रममा उद्योगको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेवल स्पष्ट नभएका चियापत्ति फेला पारेपछि प्रशासनले उद्योगको चिया प्रशोन केन्द्र शिल गरेको थियो ।

उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला कार्यान्वयन गर्ने निर्देशन अनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम नष्ट गरिएको हो ।

उद्योगले विभिन्न ब्राण्डाका चियालाई प्रशोधन गरेर ‘रेड लेबल’ ब्राण्ड बनाएर विक्री वितरण गर्दै आएको छ । सोही प्रयोजनका लागि उद्योगले विभिन्न व्राण्डका २ हजार ५८६ बोरा चिया प्रशोधन केन्द्रमा भण्डारण गरेर राखेको थियो । भण्डारण गरिएको चिया मध्ये ३८५ बोरामा मात्र उपभोग्य मिति तथा अन्य विवरणहरू रहेको पाइएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*