बस्तीबाट हाइटेन्सन लाइन लैजाने निर्णय फिर्ता लिन संघर्ष समितिको माग
बस्तीबाट हाइटेन्सन लाइन लैजाने निर्णय फिर्ता लिन हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समिति चितवनले माग गरेको छ । चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका केहि वडाहरु पर्ने गरी बस्तीबाट लाइन लान लागिएको भन्दै संघर्ष समितिले वैकल्पिक मार्ग अपनाउन सम्बन्धित पक्षसंग माग गरेको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी संघर्ष समितिका संयोजक केशव राज भट्टराईले स्थानीयलाई जानकारी नदिई स्थानिय निकाय र विद्युत प्राधिकरणले दुई महिना अघिदेखि करीब ३३ केभीको हाइटेन्सन लाईन विस्तारको काम सुरु गरेको जानकारी दिनुभयो । यद्यपी स्थानियको विरोधका कारण हाल विस्तारको काम भने रोकिएको उहाँले बताउनुभयो ।
संयोजक भट्टराईका अनुसार विद्युत प्राधिकरण र स्थानीय निकायको यो कदमले राप्तीको वडा नम्बर ६ र खैरहनीको वडा नम्बर ६, ७, ९ र १० का करीब ४५ सय घरधुरी समस्यामा पर्नेछन् । समितिका सदस्य तथा इन्जिनियर नवराज फुयाँलले हर्दि–चैनपुरसम्म करिब ७.५ किलोमिटर बस्तीमा हाइटेन्सन लाइन विस्तार हुन लागेको जानकारी दिनुभयो ।
उहाँले हाइटेन्सनका कारण त्यहाँका करीब १५ हजार जनताको जिउधनको जोखिम हुने बताउनुभयो । उहाँले आफुहरु विकासको विरोधी नभएको भन्दै जनतालाइ नै समस्यामा पार्ने गरी हुन लागेको कामको विरोध मात्र गरेको बताउनुभयो । उहाँले वैकल्पिक मार्ग अपनाउन गरिएको आग्रहलाइ बेवास्ता नगर्न चेतावनी समेत दिनुभएको छ ।
स्थानिय स्तरबाट आफ्नो आग्रहको सुनुवाइ नभएपछि आज बागमती प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको फुयाँलले बताउनुभयो । संघर्ष समितिले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । फुयाँलका अनुसार मुख्यमन्त्री पाण्डेले त्यस क्षेत्रको हाइटेन्सन लाइन विस्तारको विषयमा अध्ययन गरिने आश्वासन दिनुभएको छ ।