माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सकियो

छहारी संवाददाता
पुस १८, २०७८

दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएकाे हाे ।

महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने भाेलि साेमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने उहाँले बताउनुभयो ।

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिनुभयो ।

यसैबीच नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैकाे पनि विमति नरहेको दाबीसमेत गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलभन्दा पनि बढी लोकतान्त्रिक ढङ्गले केन्द्रीय कमिटी चयन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रीय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको दाबीसमेत गर्नुभयो ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रीय सदस्य अनिल शर्माले बताउनुभयो । उहाँले सर्वसम्मत रूपमा केन्द्रीय कमिटी चयन हुनु भनेको आफूहरूका लागि गौरवको विषय भएको र यसले देशको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताउनुभयो । माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*