मकवानपुरमा १२ हजार बालबालिका मोर्डना खोपबाट वञ्चित

छहारी संवाददाता
पुस १६, २०७८

मकवानपुरमा नियमित विद्यालय नआउने १२ हजार बालबालिका कोरोना विरुद्धको मोर्डना खोपबाट वञ्चित भएका छन् ।

खोप कार्यक्रममा नियमित विद्यालय नआउने १२ हजार बालबालिका छुटेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वाथ्य निरिक्षक बासुदेव रिमालले बताउनुभयो । मकवानपुरमा पौष ४ गतेदेखि १४ गते सम्म खोप अभियान सञ्चालन भएको थियो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको गृहजिल्ला मकवानपुरको भुटनदेवी स्कुलबाट खोप अभियान सञ्चालन गरिएको थियो ।

अभियानको समयमा खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोप कार्यक्रमको समयमा खोप दिइने रिमालले जानकारी दिनुभयो । नियमित खोप कार्यक्रममा दुईवटा केन्द्र बनाएर एउटा केन्द्रबाट नियामित खोप र अर्को केन्द्रबाट १२ देखि १८ वर्ष समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

साथै प्रत्येक पालिकामा “खोज र खोप लगाउ” अभियाननै सञ्चालन गरिने स्वास्थ्य कार्यालयको तयारी छ । स्कुले बालबालिका लक्षित खोप कार्यक्रममा मकवानपुरका ७७ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लाका १० वटा पालिकाका ७७ प्रतिशत बालबालिकाले खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले ५१ हजार बालबालिकालाई खोप दिने लक्ष्य राखेको थियो । मकवानपुरमा १२ देखि १७ वर्ष उमेर समुहका ३९ हजार ३ सय ११ जना बालबालिबालिकाले खोप लगाएका छन् । खोप अभियानमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १९ हजार ६ सय ७१ बालबालिकाले खोप लगाएका छन् ।

सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ७ सय १३ बालबालिकाले खोप लगाएका छन् । त्यस्तै, मनहरी गाउँपलिकामा ३ हजार २ सय १२, थाहा नगरपालिकामा ३ हजार १ सय ५, बकैया गाउँपालिकामा ३ हजार २ सय ६०, बागमती गाउँपालिकामा २ हजार ४, मकवानपुरगढी गाउँपालिकामा १ हजार ८ सय ८४, भिमफेदी गाउँपालिकामा १ हजार ५ सय १२ ले खोप लगाएका छन् ।

यस्तै, कैलाश गउँपालिकामा १ हजार ६ सय ६० बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरिक्षक बासुदेव रिमालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*