बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यद्वारा सपथ ग्रहण
बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकटका हुनुहुन्छ । आयोगको सदस्यमा क्रमशः मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त हुनुभएका छन् ।
उहाँहरू दुवैलाई मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो । नेपाल काँग्रेस निकट हुनुहुन्छ भने लामिछाने नेकपा (माओवादी केन्द्र) निकट हुनुहुन्छ । लामिछाने संविधानसभा सदस्यसमेत हुन् । आयोगको अध्यक्षमा भने मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ ।
आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ । सरकारले हाल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरेको छ । अन्य सदस्य समावेशिता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।