प्रेस सेन्टर मकवानपुरद्वारा पत्रकार विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान

छहारी संवाददाता
पुस १३, २०७८

प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ ।

जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनी यहि पुष १० गते बसेको सेन्टरको बैठकको निर्णय अनुसार मंगलबार उक्त रकम प्रदान गरिएको हो । सेन्टरकी अध्यक्ष अञ्जली थापा सहितको पत्रकार टोलीले विष्टको घरमै पुगेर भत्ता सहित न्यानो कपडा र पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको हो ।

महिला पत्रकारहरु सुत्केरी अवस्थामा केहि समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले भत्ता उपलब्ध गराएको अध्यक्ष थापाले बताउनुभयो । सेन्टरले आगामी दिनमा जिल्लामा क्रियाशिल पत्रकार महिलाका लागि प्रभावकारी हुने खालका कार्यक्रमहरु ल्याउने पनि उहाँँले बताउनुभएको छ । उहाँले अन्य संगठनका साथीहरुबाट पनि यस्ता खाले सहयोग हुन्छ भन्नेमा पत्रकार महिलाहरुको तर्फबाट आशावादी रहेको बताउनुभयो ।

यस्तै पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको नेतृत्वमा गएको महासंघ कार्यसमितीले आमा र बच्चाको सुस्वास्थ्यको कामना गरेको छ । अध्यक्ष गौतमले सुत्केरी पत्रकारलाई काममा फर्कने वातावारण निर्माणको लागि महासंघले केहि नयाँ गर्ने बताउनु भएको छ । उहाँले कार्यालयहरुमा आमा पत्रकारको लागि बेबी केयरसंगै स्तनपान कक्षको व्यवस्था गरिदिन पहल गर्ने पनि बताउनुभयो ।

यसैगरी संचारिका समूह मकवानपुरले पनि आजै सुत्केरी विष्टलाई पोषणयुक्त खानेकुरा उपलब्ध गराएको छ । संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजाल र सचिव श्रीजना नेपाल सहितको टोली विष्टलाई भेट्न घर पुगेको थियो ।

सुत्केरी भत्ता तथा खाद्यान्न प्रदान गर्न पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, जिल्ला उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपि शर्मा लगायतको टोलाी पुगेको थियो । सेन्टरको बैठकले यसअघि ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न र पत्रकार महिलालाई सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

को हुन् विष्ट ?
सुनिता पाण्डे विष्ट दुई वर्ष अघिदेखि मकवानपुरलाई कर्मथलो बनाएर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

हेटौंडाबाट संचालित रेडियो सन्देश र दैनिक पत्रिका हेटौंडा सन्देशमा कार्यरत उहाँ अहिले सुत्केरी अवस्थामा हुनुहुन्छ । उहाँको जन्मघर धादिङको धुनिवेसी नगपालिका ९ मा पर्दछ । उहाँले यसअघि धादिङमा संचालित रेडियो राजमार्गमा करीब एक वर्ष कार्यक्रम उत्पादकका रुपमा काम गर्नुभयो । २७ दिनअघि छोरीलाई जन्म दिनु भएकी २६ वर्षीय विष्टको पहिलो सन्तान ६ वर्षका एक छोरा छन् ।

८ वर्ष अघि हेटौंडा नवलपुरका बासुदेव विष्टसंग विवाह गरेकी सुनितालाई फेरी पनि काममा फर्कने चाहना छ । उहाँ छोरी तिन महिना पुरा भएपछि पुनः पत्रकारितामै फर्कने बताउनुहुन्छ । तर त्यसका लागि घर र कार्यालयको सहयोग नभइ सम्भव नहुनेको उहाँको बुझाइ छ ।

उहाँ भन्नुहुन्छ -‘सानो बच्चा छोडेर काममा फर्कन मन मान्दैन, यो बच्चाको हकमा ठिक पनि होइन । तर संगै लिएर जाउँ कार्यालयहरु आमा पत्रकार मैत्री छैनन् । अहिले जिल्लामा संचालित मिडियाहरुमा त्यो अभ्यास पनि छैन । त्यसैले एक किसिमको दोधार चाही छ । तर पनि काममा फर्कन्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*