उद्योग संघ र उद्योग वाणिज्य संघ मकवानपुरले स्थानीय संचार माध्यमको प्रवर्दनमा सहयोगी भूमिका खेल्ने

छहारी संवाददाता
पुस १२, २०७८

नेपाल पत्रकार महासंघ मकवानपुरले उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघसंग सोमबार छलफल गरेको छ । जिल्लामा संञ्चालित मिडियालाई समानुपातिक विज्ञापन वितरणको व्यवस्था गर्ने उदेश्यले महासंघले छलफल थालेको हो ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको महासंघको टोलीले जिल्लामा संचालित मिडिया आर्थिक रुपमा धरासायी हुने अवस्था सिर्जना भएको भन्दै आवश्यक समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरको छ । प्रदेश राजधानी हेटौंडामा संचालित उद्योगहरुले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने परिपाटीका कारण स्थानिय मिडिया समस्यामा पर्न थालेको भन्दै सबैलाई समानुपातिक विज्ञापन वितरणको पहल गरिदिन महासंघले माग गरेको छ ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमले स्थानिय समाचारहरु ठुला मिडियामा आउने माध्यमनै जिल्लाका पत्रकार भएकाले उनिहरुलाई यस क्षेत्रमा टिकाइ राख्न स्थानिय मिडियालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने आवश्यक्ता औंल्याउनुभयो । छलफलका क्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको भन्दै समन्वय गर्न आफुहरु सकारात्मक रहेको बताउनु भएको छ ।

उहाँले जिल्लाको औद्योगिक विकास र सञ्चार माध्यमको उत्थानका लागि उद्यमशिलतालाई उद्योगसंग जोड्न पत्रकारहरुबाट पनि सकरात्मक समाचारको अपेक्षा रहेको बताउनुभयो । अध्यक्ष पोखरेलले उद्योगले उत्पादन गरेका वस्तुको समाचार प्रकाशन, प्रशारण हुँदा त्यसले विज्ञापनको भन्दा ठुलो भूमिका खेल्ने भन्दै मकवानपुरको पत्रकारीताले उद्योग र उद्योगीको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

मिडियाले प्रशारण, प्रकाशन गरेका उद्योगका समाचारको प्रभाव बढ्दै जादाँ आपसी सम्बन्ध नजिकिने भन्दै उहाँले त्यसपछि विज्ञापन वितरणमा समस्या नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योगको अनुगमन तथा बन्द गर्ने विषयका समाचारमा मात्रै केन्द्रित नभएर खुलेका नयाँ उद्योग र भएका उत्पादनका बारेमा सकारात्मक समाचार संकलन गरिदिन आग्रह समेत गर्नु भएको छ ।

सघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकरात्मक समाचारहरुले मझौला उद्योगहरुलाई समेत प्रभाव पारिरहेको भन्दै औद्योगिक क्षेत्रका सकरात्मक समाचारलाई बढीभन्दा बढी प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले उद्योगले उत्पादन गरेका कुनै वस्तु राष्ट्रिय मिडियाको पहिलो पृष्ठमा प्रकाशित भएपछि मात्र राष्ट्रिय रुपमा त्यसको लन्च भएको मान्ने सोच उद्योगीहरुमा कायमै रहेकाले पनि स्थानिय मिडियालाई समेट्न नसकिएको जिकिर गर्नुभयो ।

उहाँले आगामी दिनमा दुबै संस्थाबिच अन्तरसम्बन्ध कायम राख्ने विषयमा छलफल जारी रहने बताउनुभयो । छलफलमा उद्योग संघका महासचिव बासु कार्की लगायतको सहभागीता रहेको थियो ।

यसैबिच, महासंघले आजै मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिसंग पनि छलफल गरेको छ । छलफलका क्रममा पत्रकार महासंघको टोलीले स्थानिय मिडियालाई उत्थान गर्न विज्ञापन दिने विषयमा तदारुकता देखाउन आग्रह गरेको छ ।

छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले केहि समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताउनुभयो । उहाँले एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने जिकिर गर्नुभयो ।

पछिल्लो समय मिडियाहरु व्यापक भइदिँदा एउटालाई दिने र अर्कोलाई नदिने भन्ने विवाद चर्किने गरेकाले पनि व्यवसाथीहरु विज्ञापन दिन खासै नरुचाउनु गरेको अध्यक्ष अग्रवालको भनाई छ । यद्यपी उहाँले संघ र पत्रकार बीचको छलफलपछि आगामी दिनमा स्थानिय मिडियालाई प्राथमिकता राख्न आफुहरु सकारात्मक रहेको बताउनुभयो ।

छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एशोसियट तर्फका अर्का उपाध्यक्ष उज्वल चौलागाई र महासचिव दिपक उप्रेतीले स्थानिय मिडियामा समानुपातिक विज्ञापन वितरणका विषयमा आगामी बैठकमा बृहत छलफल चलाउने विश्वास दिलाउनु भएको छ ।

आजको छलफलमा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुव्र अधिकारी, अर्का उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु सिर्जना नेपाल, रुपा गुरुङ, बलराम पुडासैनी, विजय पौडेल, नवराज वाइवा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*