माओवादी केन्द्रको महाधिवेशनको सूचना सहज ढंगले दिन मिडिया सेन्टर स्थापना

छहारी संवाददाता
पुस १२, २०७८

नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टर स्थापना गरेको छ ।

महाधिवेशन बारे आवश्यक सूचना र जानकारी दिने उदेश्यले अधिवेशन स्थल प्रज्ञा भवनमा नैं मिडिया सेन्टरको स्थापना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आर्चायले जानकारी दिनुभयो । हरेक दिन साँझ नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्णबहादु महराले मिडिया सेन्टर मार्फत महाधिवेशन बारे जानकारी दिने जनाइएको छ ।

मिडिया सेन्टरमार्फत सञ्चारकर्मीहरुलाई सहज रुपमा सूचना उपलब्ध हुने र मिडिया व्यवस्थापनमा सहज हुने प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले बताउनुभयो ।

महाधिवेशनको बन्द सत्र आज विहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नु भएको छ । आजै स्थायी समिति सदस्य देव गुरुङले पनि विधान मस्यौदा प्रस्तुत गर्नु भएको छ । महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*