जिल्लाका जेष्ठ पत्रकारलाई उपचार खर्च र पत्रकार महिलालाई सुत्केरी भत्ता दिने प्रेस सेन्टर मकवानपुरको निर्णय
रासस प्रेस सेन्टर मकवानपुरले जिल्लाका जेष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च र पत्रकार महिलालाई सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको प्रेस सेन्टरको बैठकले ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न र पत्रकार महिलालाई सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको हो । बैठकमा सेन्टरकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ती व्यतित गरिसकेको भएपनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने बाध्यतालाई कम गर्न जेष्ठ पत्रकारलाई उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
यसैगरी पत्रकार महिलाहरु सुत्केरी अवस्थामा काम गर्न नसक्ने भएकाले आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रिय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमतीका महासचिव कृष्णसारु मगर लगायतको उपस्थिती रहेको थियो ।