ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ, सकेसम्म भिडभाड हुने कार्यक्रम रद्द गर्नुहोला : डब्लुएचओ

छहारी संवाददाता
पुस ६, २०७८

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ ।

क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै यात्राका केही योजनाहरु रद्द गर्न समेत डब्लुएचओले आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘जीवन नै गुमाउने भन्दा केही कार्यक्रमहरु रद्द गर्नु उपयुक्त हुन्छ । यो कठिन निर्णय हो तर गर्नै पर्ने चाहिँ हो ।’

डेल्टा भन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको तथ्य रहेको उनले बताएका छन् । ५० भन्दा बढी उत्परिवर्तन ९म्युटेशन० भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् । युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।

हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ । सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् । पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ । साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*