हेटौंडाका विद्यालयमा कोरोना विरुद्धको खोप लगाउने विद्यार्थीको उत्साहजनक सहभागिता
हेटौंडाका विद्यालयमा कोरोना संक्रमण विरुद्धको मोडर्ना खोप लगाउन विद्यार्थीको उत्साहजनक सहभागिता रहेको छ ।
आइतबारबाट सुरु भएको खोप कार्यक्रममा हरेक विद्यालयका विद्यार्थीको सहभागिता र शिक्षकहरुको सहयोगले कार्यक्रम प्रभावकारी बनाउन सहयोग पुग्ने उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो । हेटौंडामा १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीलाई खोप लगाउन विद्यालय र क्याम्पसमा उल्लेख्य मात्रामा स्वास्थ्यकर्मी खटाइएको मेयर महतको भनाई छ ।
एक साता सम्ममा विद्यालय र क्याम्पसमा खोप लगाएर सक्ने लक्ष्य रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो । हिजो मात्र १७ वटा विद्यालयमा खोप लगाइसकिएको र आजबाट अरु बाँकी विद्यालयमा खोप लगाइने उहाँले बताउनुभयो ।
यसैबीच हेटौंडा–५ को लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकारुलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाइको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले विद्यालयको खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडाका १२ देखि १७ वर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई खोप लगाउका लागि आग्रह गर्नुभयो । कोरोनाको त्रास कायम रहेकाले सबै उमेर समुहकालाई पहिलो र दोस्रो मात्रा नछुटाइकन खोप लगाउनुपर्ने उहाँले आग्रह गर्नुभयो । हेटौंडाका स्वास्थ्यकर्मीहरुले सबै विद्यालयमा केन्द्र बनाएर खोप लगाउने अभियान सुरु गरेको मेयर महतको भनाई छ ।