वन क्षेत्रको प्रयोग मात्र हैन संरक्षणमा पनि ध्यान दिनु जरुरीः जिसस प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन क्षेत्रको प्रयोगसंगै संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनमा जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा बसेको डिभिजनस्तरीय समन्वय बैठकमा उहाँले वन क्षेत्रको प्रयोगसंगै संरक्षणमा राजनैतिक दल, सरकारी तथा गैरसरकारी संस्था, उपभोक्ता, नागरिक समाजलगायत सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।
प्रमुख खुलालले वनजंगलको संरक्षणसंगै वन क्षेत्रलाई उत्पादनसंग जोडेर उत्पादन मुलक कार्य गरिनु पर्ने र आर्थिक उपलब्धी हासिल गर्ने तर्फ केन्द्रित हुनु पर्ने बताउनुभयो । जनताको आर्थिक विकासमा टेवा पुग्ने र वन क्षेत्रको प्रयोग गर्ने कुरामा सबै सचेत र सकृय हुनु पर्ने उहाँको भनाई थियो । उहाँले बढ्दो वन अतिक्रमण रोक्न समेत सबैको सकृय सहभागिता र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यालयबाट आगामी वर्ष सञ्चालन गरिने कार्याक्रम कार्यान्वयनमा समेत सबैको सहभागिताको अपेक्षा गर्नुभयो ।
बैठकमा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले कार्यालयबाट चालु आर्थिक वर्षमा भएका काम, उपलब्धी, आगामी कार्ययोजना, समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आचार्यले जनतासँग वनका कुरा, जनताका मनका कुरा कार्यक्रमको अभियान चलाउने, स्थानीय तहको वन वातावरण ऐन निर्माण आदिमा सहकार्य, समन्वय, संवाद गरी वातावरणमुखी कार्यक्रम गर्ने, विद्यालय शिक्षा प्रवद्र्धन गरिने, वन अतिक्रमण, वन डढेलो, जथाभावी पूर्वाधार निरुत्साहित गर्ने गराउने, नदिजन्य श्रोत व्यवस्थापन, वृक्षारोपण अभियान चलाउने जस्ता कार्य योजना रहेको बताउनुभयो ।
बैठकमा सहभागिहरुले डिभिजन वन कार्यालयको कार्यक्रम प्रभावकारी भएको भन्दै यसमा सबैले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेल, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, विभिन्न राजनैतिक दलका प्रतिनिधि, गैरसरकारी संघ संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।