आज काठमाडौंका ३२ वटै वडामा सार्वजनिक बिदा

छहारी संवाददाता
मंसिर २९, २०७८

काठमाडौं महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ ।

आज वसन्तपुरमा परम्परागत बाजासहित विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने  सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते  महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

यस्तै, दिवसका अवसरमा आज काठमाण्डौका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ । आफ्नो कार्यकालमा चार सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको महागरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो ।

यस्तै स्वास्थ्यका क्षेत्रमा ‘वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ । त्यसैगरी वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै शिक्षाका क्षेत्रमा ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ । नेपाल भाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपाल भाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाण्डौको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याउने तयारीमा महानगरपालिका लागीपरेको छ ।

यसैगरी २०७२ सालको भूकम्पले क्षति भएका काष्ठमण्डप, धरहरा, रानीपोखरी, कमलपोखरी लगायत राष्ट्रिय गौरबका सम्पदाहरुको पुनर्निमाणका कार्य समेत गरेको मेयर शाक्यले बताउनु भएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*