मकवानपुरगढीमा आजदेखि मतदाता नामावली संकलन
मकवानपुरगढी गाउँपालिकामा मतदाता नामावली संकलन विशेष कार्यक्रम आज शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिका कार्यालयले मतदाता नामावली संकलनका लागि गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा कार्यालय स्थापना गरेको छ ।
पुरानो गाउँपालिका कार्यालयको भवन (हाल वडा कार्यालय)मा मतदाता नामावली संकलनका लागि कार्यालय सञ्चालन गरिएको हो । यही कार्यालयबाट आज १७ मंसिर शुक्रबारदेखि २ पुससम्म उमेर पुगेका नयाँ मतदाता नामावली संकलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।
गाउँपालिकाको ८ वटै वडालाई समयावधि तोकेर १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका तर मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम प्रविष्टी गराउन मतदाता नामवली संकलन कार्य सुरु गरेहो हो । मतदाता नामावली संकलनको पहिलो दिन मंसिर १७ गते वडा नम्बर ३ का वडाबासीको मात्रै नामावली संकलन गरिने भएको छ ।
३ नम्बर वडाका १६ वर्षभन्दा माथिकाले नयाँ मतदाता नामावली बनाउन बिहान ८ बजेदेखि ५ बजेसम्म मक्राञ्चुलीस्थित कार्यालयमा पुग्नु पर्नेछ । मतदाता नामावली प्रविष्ट गराउन आउने नागरिकले नेपाली नागरिकताको सक्कली प्रमाणपत्र र त्यसको फोटोकपी लिएर आउनु पर्नेछ ।
बसाईंसराइ गरी आएको हकमा बसाइसराइको सक्कलै र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा विबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिई आउनु पर्नेछ । मंसिर १८ र १९ गते वडा नम्बर ४ का वडाबासीको नामावली संकलन गरिने छ । मंसिर २० र २१ गते वडा नम्बर ५ तथा मंसिर २२ र २३ गते वडा नम्बर ६ का वडाबासीको मतदाता नामावली संकलन गरिने गाउँपालिकाको पञ्जिकरण शाखाकी मानकुमारी तिमल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी, मंसिर २४ र २५ गते वडा नम्बर २, मंसिर २६ र २७ गते वडा नम्बर १ मा, मंसिर २८ र २९ गते वडा नम्बर ७ र पुस १ र २ गते वडा नम्बर ८ को लागि समय निर्धारण गरिएको छ । तोकिएको दिन सम्बन्धित वडामा गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बसले मक्राञ्चुली र पुनः वडासम्म पु¥याउने व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले सोधिखोजीलाई जानकारी दिए । पुडासैनीका अनुसार १६ वर्ष उमेर पुगेकाले मतदाता नामावली संकलन कार्यक्रममा सहभागिता जनाउन पाउने र मतदाता परिचय पत्र भने १८ वर्ष पुगेपछि पाउने छन् ।
१८ वर्ष पुगेकालाई नयाँ मतदाता नामावली संकलन गर्न यो कार्यक्रम ल्याइएको हो । पुरानो मतदाताले कुनै कुरा सच्याउन परेमा भने गाउँपालिका आएर नहुने पुडासैनीले बताउनुभयो ।