कांग्रेस मकवानपुरका सभापति बानियाँ प्रदेश सभापतिमा उम्मेदवारी दिने तयारीमा
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सभापतिमा उम्मेदवारी दिने तयारी अघि बढाउनु भएको छ ।
१४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश सभापतिको उम्मेदवारी औपचारिक रुपमा घोषणा नगरेपनि नेता बानियाँले आफ्नो आन्तरिक तयारी भने तिब्र पार्नु भएको हो । उहाँ निकट एक नेताका अनुसार सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौला लगायतका शिर्ष नेतृत्वसहितको सहमति जुटाएर सर्वसम्मत सभापति बन्ने ढंगले बानियाँ अघि बढ्नु भएको हो ।
ति नेताले भने– ‘प्रदेशका जिल्लाहरुमा पनि छलफल गरेर सकभर सर्वसम्मत नेतृत्वमा जाने, नभए लोकतान्त्रिक विधिमा सहभागी हुने गरी उहाँ सभापतिको उम्मेदवार हुनुहुनेछ ।’ स्रोतका अनुसार बानियाँलाई संस्थापन र इतर समूह दुबैको सहयोग रहने भएकाले उहाँले आफ्नो चुनावी अभियानलाई अघि बढाउनु भएको हो ।
नेता बानियाँले अहिले आन्तरिक ढंगले छलफललाई अघि बढाएर सबै क्षेत्र र वर्गको प्रतिनिधित्व प्रदेश समितिमा रहने गरी खाका बनाउन तयारी गरेको बुझिएको छ । २०४४ सालदेखि राजनीतिमा होमिएका बानियाँ नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति हुनु भएको थियो ।
उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद हुनुहुन्छ । बानियाँले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहनु भएको छ । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा मंसिर १६ र १७ गते हुँदैछ ।