देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलबीच संवाद र सहकार्य आवश्यकः प्रधानमन्त्री देउवा

छहारी संवाददाता
मंसिर १०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताउनुभएको ।

शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताउनु भएको छ । ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ उहाँले भन्नुभयो, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताउनुभयो । सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताउनुभयो ।

संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताउनुभयो । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*