बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कार्तिक २२ गते विश्वासको मत लिने

छहारी संवाददाता
कार्तिक १५, २०७८

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्तिक २२ गते प्रदेशसभाबाट विस्वासको मत लिनुहुने भएको छ । विस्वासको मत लिएर मात्र अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउने तयारी गर्नु भएको हो ।

मुख्यमन्त्रीका रुपमा सपथ लिएको एक महिना भित्रमा विस्वासको मत लिने समय भएपनि उहाँले कार्तिक २२ गतेका लागि विस्वासको मत लिन लाग्नु भएको हो । बिस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।

मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । तिहारलगत्तै सदनबाट विश्वासको मत लिने बित्तिकै प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पुर्याउते तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुट्नु भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहनु भएको हो ।

माओवादी र कांग्रेसले चार, चार मन्त्रालय र एक, एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसक्नु भएको छ । उहाँले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गर्नु भएको हो । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।

तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*