माओवादी बिना देश विकास असम्भव रहेको अर्थमन्त्री शर्माको दाबी

छहारी संवाददाता
कार्तिक १४, २०७८

अर्थमन्त्री जर्नादन शर्मा ूप्रभाकर’ले नेकपा माओवादी केन्द्रले अब नेपाली राजनीतिको नेतृत्व गर्ने बताउनु भएको छ ।

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) हेटौंडाको नगर सम्मेलनलाई आज संवोधन गर्दै उहाँले माओवादी बिना देश विकास असम्भव रहेको दाबी गर्नुभयो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थमन्त्री शर्माले माओवादी केन्द्र अब नयाँ ढंगले अघि बढ्ने समेत बताउनुभयो ।

प्रतिगामी तत्वहरु माओवादी पार्टी र प्रचण्ड बिरुद्ध षड्यन्त्रपूर्वक लागेको आरोप लगाउँदै उहाँले अब त्यस्ता स्वेच्छाचारी, संविधान विरोधी र लोकतन्त्र विरोधीहरुलाई जनताकै बलमा परास्त गरिने बताउनुभयो । अब प्रत्येक गाउँपालिका, नगरपालिकामा ५ सय जना वाईसियलको दस्ता निर्माण गर्ने भन्दै उहाँले आफुहरुले प्रतिगामी चरित्रको विरुद्ध गरेको आन्दोलनको नेतृत्व गरेको भन्दै अब चाँडै देशको नेतृत्व गर्ने ठोकुवा गर्नुभयो ।

मुलुकमा हरेक परिवर्तनहरुमा माओवादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री शर्माले माओवादीकै नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरिएको इतिहास ताजा रहेको स्मराण गराउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहिद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताउनुभयो । अर्थ व्यवस्थालाई थप मजबुद बनाइने भन्दै उहाँले आन्तरिक राजश्व संकलनमा बृद्धि गर्ने, राजश्व चुहावट रोक्ने योजना सुनाउनुभयो ।

बर्षौँसम्म लोडसेडिङ्को समस्या झेल्दै आएका जनताले अहिले २४ सै घण्टा बिजुली बाल्न पाएको बताउँदै उहाँले जनताको साथ पाए जस्तोसुकै चुनौतीको सामना गर्न आफु तयार रहेको बताउनुभयो । मन्त्री शर्माले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग कलकारखाना आफ्नो नेतृत्वमा संचालनमा आउने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*