राष्ट्रपति भण्डारी बुद्ध जन्मस्थल लुम्बिनीमा

छहारी संवाददाता
कार्तिक १४, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनी लुम्बिनी आएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्रीहरु, राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, प्रदेशसभा सदस्यहरु, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रदेश सरकारका पूर्वपर्यटन मन्त्री लिला गिरी, कोषका सदस्यसचिव सानुराजा शाक्य, विकास कोषका सदस्यहरुलगायतले स्वागत गरेका थिए ।

लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान विहार उद्घाटन र प्रार्थना गर्नेछिन्। विहार उद्घाटनपछि मायादेवी मन्दिर दर्शन र प्रार्थनाको कार्यक्रम छ। सोही क्रममा उनले लुम्बिनी गुरुयोजनाको प्रगतिबारे जानकारी लिने उनले बताए। लुम्बिनीमा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय सभा हलको अवलोकन गरेर उनी गौतमबुद्ध विमानस्थलमा हुने कार्यक्रममा सहभागी हुनेछिन् ।

विमानस्थलमा राष्ट्रपतिले साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाईट जेड’ धातुले बनेको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ। म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा राख्न ल्याइएको हो।

दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो। बुद्धमूर्ति अनावरण कार्यक्रममा नेपालका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड, स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुईजना मन्त्रीसमेत सहभागी हुनेछन् । साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*