जम्बो मन्त्रिपरिषद्को तयारीमा बागमतीका मुख्यमन्त्री पाण्डे
तिहारलगत्तै सदनबाट विश्वासको मत लिने तयारीमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रालय भागबन्डामा जुटेका छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहेका छन् । माओवादी र कांग्रेसले चाररचार मन्त्रालय र एकरएक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ ।
मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसकेका छन् । उनले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका हुन् । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।
मुख्यमन्त्री पाण्डेले ८ मन्त्रालय फुटाएर मुख्मन्त्रीसहित १२ वटासम्म बनाउने तयारी गरेका छन् । साढे ३ वर्षसम्म मुख्यमन्त्री रहेका डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाउँदै आएका थिए । त्यसपछि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पालामा ८ मन्त्री र ४ राज्यमन्त्री गरी १२ सदस्यीय मन्त्रिपरिषद् थियो ।
शाक्यले मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै गठबन्धनले व्यापक विरोध गरेको थियो । एमाले उपाध्यक्ष शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको हो । अहिले वाग्मतीमा मुख्यमन्त्रीसहित एकीकृत समाजवादीबाट दुई, माओवादी र कांग्रेसबाट एकरएक जना गरी चार सदस्यीय मन्त्रिपरिषद् छ ।
गठबन्धनका एक सांसदका अनुसार सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी तीनवटा मन्त्रालय बनाइनेछ । यसअघि मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन् । त्यसलाई पुनः विभाजन गरेर थप दुइवटा मन्त्रालय गठन गरिने तयारी भइरहेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय बनाउने छलफल भइरहेको छ । ‘यो मन्त्रालय हाल कांग्रेसले सम्हालेको छ । ३७ प्रतिशत बजेट यसै मन्त्रालयमा रहेका कारण कांग्रेसले विभाजन गर्न मानिरहेको छैन,’ गठबन्धनका एक सांसदले भने । उनका अनुसार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि विभाजन गरेर कृषि मन्त्रालय छुट्टै बनाउने र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।
गठबन्धनमा सहभागी दलहरूबाट १२ जनासम्म मन्त्री नै बन्नेछन् भने तीन राज्यमन्त्री बन्ने करिब टुंगो लागिसकेको छ । ‘मन्त्री र राज्यमन्त्री गरेर १६ जनासम्म हुने देखिएको छ । संविधानअनुसार २२ जनासम्म बनाउन सकिन्छ,’ ती सांसदले भने । कांग्रेस र माओवादी केन्द्रले ४र४ वटा मन्त्री र एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित ४ जना मन्त्री पाउने गरी छलफल भइरहेको छ ।
‘हालकै अवस्थामा गठबन्धनमै रहेको जनता समाजवादी पार्टीलाई एउटा राज्यमन्त्री मात्र दिने र बाँकी राज्यमन्त्री आवश्यकताका आधार बाँडफाँट गर्ने गरी सत्तारूढ दलभित्र छलफल जारी छ,’ ती सांसदले भने । उनका अनुसार जसपाले पनि मन्त्रीमै दाबी गरिरहेको छ ।
हाल फुटको संघारमा रहेको विवेकशील साझा पार्टी पनि गठबन्धनमा सामेल भएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गठबन्धनभित्र छलफल भइसकेको छ । स्रोतका अनुसार विवेकशील साझा विभाजन भएको खण्डमा गठबन्धनमा आएर सरकारमा जाने सम्भावना छ । वाग्मती प्रदेशमा विवेकशीलका तीन सांसद छन् । कान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।