कोरोना भाइरसको उत्पत्तिबारे थाहा नहुन पनि सक्ने अमेरिकी निष्कर्ष
अमेरिकी गुप्तचर निकायले कोभिड–१९ अर्थात कोरोना भाइरसको उत्पत्तिबारे थाहा नहुन पनि सक्ने निष्कर्ष निकालेको छ ।
कोरोना भाइरस उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने उनीहरुको निचोड छ । ती निकायले कोरोना भाइरस जैविक हतियार नभएको समेत निष्कर्ष निकालेका छन् ।
अफिस अफ द यूएस डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स ओडीएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ । तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाण नभएको उल्लेख छ । गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको समीक्षालाई अद्यावधिक गरेर विवरण सार्वजनिक गरिएको हो ।
चीनले प्रतिवेदनको आलोचना गरेको छ । प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड–१९ को सङ्क्रमण अगाडि चिनियाँ अधिकारीलाई कोरोना भाइरसबारे जानकारी नभएको भनिएको बीबीसीले जनाएको छ । तर प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्याएको लेखिएको छ ।
यो वर्षको सुरुमा अमेरिकी सञ्चारमाध्यमले वुहानको प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने बताएका थिए । यसलाई पनि चीनले अस्वीकार गरेको छ । साभारः उज्यालो अनलाइन ।