भारत–भुटान सीमा क्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो
भारत र भुटानको सीमा क्षेत्र ‘डुबर्स’मा हात्ती आतङ्क बढ्दै गएको छ ।
नेपाली भाषीको बस्ती रहेको ‘डुबर्स’मा मानव–हात्ती द्वन्द्वको समस्या जटिल बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन् ।
सडकमा गाईबस्तु हिँडे झैं हरेक बेलुका आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको छ । दैनिक झण्डै चारको सङ्ख्यामा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको छ।
किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचानमा रात बिताउने गरेका छन् । बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको बसोबास छ ।
मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका किरण उपाध्यायले बताउनुभयो । केही दिन अघि भएको एसोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा नेपाली टोलीले मानव–हात्ती द्वन्द्वको अवस्थाबारे जानकारी समेत गराएको छ ।
आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एसोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताउनुभयो । भुटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भू–भाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उहाँको भनाइ छ ।
मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या नभएकाले हिमालयले छोएको देशमा पर्यटन प्रवर्द्धनकाे साझा अभियान सञ्चालन हुनुपर्ने भारतीय संरक्षणविद् राज वसुको भनाइ छ । भारतबाट आउने जङ्गली हात्तीले प्रदेश एकको झापामा समेत सास्ती दिँदै आएको छ । नेपाल, भारत र भुटानमा जङ्गली हात्तीको समस्या उस्तैउस्तै रहेको झापाका अर्जुन कार्कीले बताउनुभयो। साभारः उज्यालो अनलाइन ।