हेटौंडाको नागस्वतीमा टोल स्तरीय फूटबल प्रतियोगिता सुरु
हेटौंडाको नागस्वतीमा टोल स्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा नर्मल मुस्कान फूटबल टिमले आयोजक जागरण फुटबल टिमलाई ४-१ गोलले पराजित गरेको छ । खेल सुरु भएको १० मिन ४२ सेकेण्डमा जागरणका जर्सी न ११ का निरज चौलागाईंले पहिलो गोल गरे पनि नर्मल मुस्कानका लागि जर्सी नम्बर ९ का सुजन थापाले १६ मिनेट ५६ सेकेण्डमा जवाफी गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक खेलमा २५ मिनेट २३ सेकेण्डमा नर्मल मुस्कानकै जर्सी नम्बर २६ का सुदिप लामाले थप एक गोल गर्दै १-२ को अग्रता दिलाए । खेलको दोस्रो हाफमा पुनः सुजन थापाले थप २ गोल गरि ह्याट्रिक गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार स्मृति किरण चोक फूटबल टिम र बनदेबी फूटबल टिम बीच प्रतिस्पर्धा हुने आयोजक समितले जानकारी दिएको छ । २५ औ टोल स्तरीय रजत जयन्ति महोत्सब फूटबल प्रतियोगिता २०७८ मा पहिलो हुने टीमलाई ४५ केजीको खसी पुरस्कार तथा पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै, दोश्रो हुने टीमलाई ३५ केजीको खसी पुरस्कार तथा पदक र प्रमाणपत्र दिइनेछ । असोज २५ गतेसम्म चल्ने प्रतियोगितामा १० वटा टीमले प्रतिस्पर्धा गर्ने खेल आयोजक समितीका गोकुल अधिकारीले जानकारी दिनुभयो ।
हरेक बर्ष बडादशैंको सुभारम्भसंगै आयोजना हुने फुटबल खेलको २५ औं बर्ष (रजत महोत्सव)को रुपमा आज भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको हो । प्रमुख अथिति हेटौंडा ७ नम्बर वडा अध्यक्ष राजन थापाले पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका बिशिष्ठ अतिथि सुपारीटार ब्यारेकका प्रमुख सेनानी संजय सिम्खडाले प्रतियोगिता सफलताको शुभकामना दिँदै खेल र शिक्षालाई संगै अगाडी लिएर गए जोकोहीको जिवन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
खेल आयोजक मूल समितिका अध्यक्ष मुरारी पौडेललको सभापतित्वमा अग्रज खेलाडीको सम्मान सहित शान्तिको प्रतिक परेवा तथा बेलुन उडाएर खेल लाई अझै रोचक र आकर्षक बनाइएको थियो । कार्यक्रममा समाजसेवी धन थापा,हेम अधिकारी,राजु अधिकारी युवाकर मैनालीको लगायतको उपस्थिति रहेको थियो ।