गाई काटेको आरोपमा पक्राउ परेकाको विनाशर्त रिहाईको माग
गाई काटेको आरोपमा पक्राउ परेकालाई विनाशर्त रिहाइको माग गरिएको छ । बकैयाबाट पक्राउ परेका १० जनालाई विनाशर्त रिहा गर्न नेपाल तामाङ घेदुङ, वडा जनप्रतिनिधि, लगायत संघ संस्थाले माग गरेका हुन् ।
बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि एवम् परिवारका सदस्यहरुले गाई काटेको भनी झुटो आरोप लगाई उनीहरुलाई पक्राउ गरिएको र मरेको गाईलाई व्यवस्थापन गर्ने क्रममा आतंकित बनाई पक्राउ गर्ने काम भएको बताएका छन् ।
संकटकालमा जस्तै गाउँमा आतंक सिर्जना गराई झुटो आरोपमा निर्दोष १० जना स्थानीयलाई पक्राउ गरिएको भन्दै उनीहरु विनाशर्त रिहा हुनुपर्ने घटनाका प्रत्यक्षदर्शी बकैया–११ का शनि तामाङले पत्रकार सम्मेलनका क्रममा बताए । व्यापारीले गाडीमा ल्याएको गाईमध्ये एउटा गाईको खुट्टा भाँचिएर बगरमा छोडेर गएको र सोहि गाई मरेपछि पुर्ने व्यवस्थापन गर्ने क्रममा केहीले काटेर मासु खान खोजेको कारण उनीहरु पक्राउ परेको उनले बताए ।
झुटो आरोपमा निर्दोषलाई पक्राउ गरेर स्थानीयमाथि प्रहरीले आतंक सिर्जना गराएको स्थानीय एकबहादुर थोकरले बताए ।
यस्तै, नेपाल तामाङ घेदुङ बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलानले पक्राउ परेका बकैया – ११ का निर्दोष १० जना स्थानीयहरु विनाशर्त तत्काल रिहा गरिनुपर्ने अन्यथा संगठन सबैपक्षसँग समन्वय गरी कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
सामान्य विषयमा राज्यबाट यसअघिदेखि नै आदिवासी जनजाति समुदायमाथि विभेद, दमन, उत्पीडन, राज्यआतंक फैलाउने काम हुँदै आएको उनको भनाई छ । यसका विरुद्ध नेपाल तामाङ घेदुङले विगतदेखि नै निरन्तर आन्दोलन गर्दै आइरहेको घलानले बताए ।
बकैया–५ का वडा अध्यक्ष शेरमान घलानले मरेको गाईलाई व्यवस्थापनका क्रममा केहीले मासु खान खोज्दा स्थानीयमाथि आतंक सिर्जना गराई निर्दोषहरुलाई पक्राउ गरेकोमा विनाशर्त तत्काल रिहाइको माग गर्नुभयो ।
गत आइतबार गाई काटेको आरोपमा बकैया गाउँपालिका –११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोहि स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रविन्द्र लो, सिमाटार बस्ने ३५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रल्हादभक्त न्यासुर, च्याउँच्याउँ बस्ने १९ वर्षीय सोमार भ्लोन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीय फुलमाया थिङ, ५० वर्षीय सञ्चमाया भ्लोन पक्राउ परेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ बागमती प्रदेश कमिटिका सदस्य ठूलीमाया मोक्तान, बागमती गाउँपालिका कमिटि अध्यक्ष निरु थिङ, बकैया – ६ कमिटि अध्यक्ष धनबहादुर लुङबा, गौतबुद्ध पर्यटन पार्क बकैयाका अध्यक्ष तारा भोम्जनलगायत उक्त घटनामा सम्वद्ध परिवारका सदस्य एवम् स्थानीयको उपस्थिति थियो ।