आज विश्व अल्जाइमर्स दिवस
आज विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ मनाइँदैछ । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन् ।
यो रोग लागे पछि बिस्तारै बिस्तारै मस्तिष्कका कोषहरु मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ।
६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ । अल्जाइमर्स सम्बन्धी एक अध्ययन अनुसार विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई यो रोग लागेको हुन्छ । मृत्युको कारणहरू मध्ये यो रोग सातौँ कारण हो ।
पछिल्लो समय यो रोग लाग्नेको सङ्ख्या बढ्दै गएकाले अल्जाइमर्स हुनेको सङ्ख्या सन् २०५० सम्ममा झण्डै १५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ । यो रोग लाग्न नदिन सन्तुलित खानपान, स्वास्थ्य परीक्षण, योग, ध्यान, व्यायाम र मनोपरामर्शमा विशेष ध्यान दिनु पर्दछ ।
भिटामिन ‘बी’ नियमित सेवन गरे, डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या समाधान गरे, लागू औषधको प्रयोग र जाँड रक्सी खान छोडे यो रोग लाग्ने जोखिम कम हुन्छ । सरकारले यो रोगबाट पीडित भएकाहरुलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता गर्दै आएको छ ।
यस्तै, संशोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक पाँच हजार रुपैयाँ सहायता दिने व्यवस्था पनि गरिएको छ । सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि विश्व अल्जाइमर्स दिवस मनाउन सुरु भएको हो । साभारः उज्यालो अनलाइन ।