नेपालले ओमानलाई सात विकेटले हरायो
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको छ ।
अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजको खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् ।
जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ ।
सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् । साभारः उज्यालो अनलाइन ।