नेपाल ओमानसंग ५ विकेटले पराजित
आइसिसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १९७ रनको लक्ष्य घरेलु टिम ओमानले ३१ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टायो ।
ओमानको जितमा ओपनर जतिन्दर सिंहले १०७ रनको योगदान गरे। उनले ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरज कुमारले २० र आयन खानले १८ रन जोडे। मोहमद नदीमले नटआउट ३८ रन बनाए । नेपालका कुशल मल्ल र करण केसीले २–२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा १९६ रन बनाएको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रन बनाउँदा कुशल भुर्तेल शून्यमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहितकुमार पौडेलले २० रन बनाए ।
नेपाल, अमेरिका र ओमाबिचको त्रिकोणात्मक शृङ्खलामा नेपालले विजयी सुरूवात गरेको थियो। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। साभारः देशसञ्चार डटकम ।