एमसिसि मार्फत आउने भनिएको रकम नेपालीले नै संकलन गर्छन्ः सांसद पुलामी
बागमती प्रदेशका सांसद प्रेम बहादुर पुलामीले एमसिसिको रकमले आमुल परिवर्तन हुने हो भने उक्त रकम सरकारले नेपालीहरुबाट नै संकलन गर्न सक्ने बताउनु भएको छ ।
उहाँले आज माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका ४ को पार्टी कार्यालय उद्घाटनको क्रममा यस्तो बताउनु भएको हो । सांसद पुलामीले नेपाल सरकारले खाता खोलेर रकमको आह्वान गरेको खण्डमा नेपालीहरुले उक्त रकम स्वतस्फुर्त रुपमा जम्मा गर्ने दाबी गर्नुभयो ।
एमसिसि मार्फत आउने भनिएको ५५ अर्ब रकम ३ करोड जनताको टाउको गनेर भाग लगाउदा १ हजार ८ सय मात्र तिर्दा पुग्ने रकममा जनभावना बिपरितको कार्य सरकारले गर्न नहुने उहाँको तर्क रहेको छ ।
हरेक नेपालीमा राष्ट्रहितको लागि काम गर्ने राष्ट्रिय भावना रहेको बताउदै उहाँले एमसिसि कुनैपनि हालतमा पास गर्न नहुने जनाउनुभयो । पार्टी कार्यालय उद्घाटन गर्दै सांसद पुलामीले अब माओबादी केन्द्र ६४ सालमा नै फर्कने समेत धारणा ब्यक्त गनुभयो ।
कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका सल्लालकार ऋषीराम पोखरेलले माआबादीले नै राष्ट्रियता जोगाउने बताउनुभयो । उहाँले हालसम्म भएका राष्ट्रघाती सन्धीहरुबाट पनि अन्य दलको धारणा बुझ्न सकिने बताउनुभयो ।
कार्यक्रममा पार्टी प्रदेश कमिटी सल्लाहकार कौषल पाण्डे, माओबादी केन्द्र मकवानपुर सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन लगाएतको उपस्थिती रहेको थियो ।