इन्सेक बागमती प्रदेशद्वारा मन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाइयो

छहारी संवाददाता
भदौ १७, २०७८

बेपत्ता पारिएका व्यक्तिहरूका परिवारहरूले बारम्बार उठाएको सत्य, परिपूरण र न्यायका सवालहरू माग गर्दै इन्सेक बागमती प्रदेश कार्यालयले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बालपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० अगस्त) को सन्दर्भमा भदौ १६ गते इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेलाई पीडित परिवारले उठाउँदै आएका मागहरूको सुनिश्चितताको लागि ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा हाल कायम रहेका आयुक्तहरूलाई प्रशासनिक जिम्मेवारी प्रदान गरी बेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्याय र परिपुरणको लागि सर्वदलीय सवैसम्मत हुनेगरी उच्चस्तरीय राजनितिक आयोग गठन गर्नुपर्ने आवश्यक देखिएको इन्सेकले सुझाव दिएको छ ।

यसैगरी ज्ञापन–पत्रमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको स्थिति तुरुन्त सार्वजनिक गरिनु पर्ने, सर्वोच्च अदालतको आदेश बमोजिम सङ्क्रमणकालिन न्यायसम्बन्धी ऐन संशोधन गनुपर्ने, बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्यलाई ऐन बनाएर अपराधिकरण गर्नुपर्ने, बेपत्ता व्यक्तिहरूको संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गर्नुपर्ने, न्यायिक प्रक्रियाको पुनरावृति नहुने प्रत्याभूत गर्नका साथै पीडित परिवारहरूलाई उचित परिपूरणको व्यवस्था गर्नुका साथै दीगो शान्तिका लागि उचित वातावरण तयार गर्नुपर्ने र हरेक स्थानीय तहहरूमा द्वन्द्व पीडितहरूको अभिलेख राख्नको लागि आवश्यक पहल गर्न इन्सेकले सरकारसमक्ष माग गरेको छ ।

तत्कालीन सरकार र नेपाल कम्युनिष्ट पाटी (नेकपा–माओवादी) बीच २०६३ मङ्सिर ५ गते गरिएको विस्तृत शान्ति सम्झौतामा ६० दिन भित्र बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गर्ने सम्झौता भएको भए पनि शान्ति सम्झौता भएको १५ वर्ष वितिसक्दा समेत बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक नहुनुले पीडितिहरूलाई थप पीडा थपिएको इन्सेकको ठहर छ ।

साथै बेपत्ता व्यक्तिहरूको छानबिन आयोगले कार्यदेश अनुसारको कुनै काम नहुँदा आयोगप्रति पीडित परिवारहरूको विश्वास हराउँदै गएको छ । इन्सेकले गरेको अभिलेख अनुसार बागमती प्रदेशभित्र १ सय ६४ जना व्यक्तिहरूलाई बलपूर्वक बेपत्ता पारिएको छ ।

जसमध्ये सबैभन्दा धेरै धादिङका २७ जना व्यक्ति बेपत्ता पारिएको छ भने सबैभन्दा कम रसुवाका १ जना बेपत्ता पारिएको इन्सेकको अभिलेखमा छ । यसैगरी काठमाडौँ र काभ्रेका २०/२०, नुवाकोटका १८, सिन्धुपाल्चोकका १७, सिन्धुलिका १४, चितवन १३, मकवानपुरका १२, रामेछापका ९, ललितपुरका ८, भक्तपुरका ५ जना व्यक्तिलाई बेपत्ता पारिएको छ । इन्सेकको अभिलेख अनुसार बेपत्ता व्यक्तिहरूमा दोलखा जिल्लामा शुन्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*