अफगानिस्तानमा जारी हिंसामा २७ जनाको मृत्यु
अफगानिस्तानमा जारी हिंसाको क्रममा पछिल्लो तीन दिनमा कम्तीमा २७ बालबालिकाको ज्यान गएको छ ।
तालिबान बिद्रोही र सरकारी सुरक्षाबलबिच जारी द्वन्द्वका कारण बालबालिका जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।बालबालिका सम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले बालबालिकाविरुद्ध तीव्र गतिमा बढेको हिंसाले गम्भीर आश्चर्य र चिन्तामा पारेको जनाएको छ ।
अमेरिकीसहितका विदेशी सैनिक फिर्ता हुने क्रम जारी रहँदा अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रण क्षेत्र बिस्तार गरेको छ । गएको शुक्रबार यता तालिबानले ६ वटा प्रान्तीय राजधानीमा नियन्त्रण कायम गरेको छ । अन्तर्राष्ट्रिय स्तरबाट युद्धविरामको आह्वान गरे पनि तालिबानले अस्वीकार गरेको छ । गएको महिना भएको हिंसाको क्रममा एक हजार भन्दा बढीको मृत्यु भएको छ ।
युनिसेफले सोमबार वक्तव्य जारी गरेर हरेक दिन बालबालिकाविरुद्धको हिंसा बढ्दै गएको उल्लेख गरेको हो। पछिल्लो दिन दिनमा कान्दाहर, खोस्त र पाक्तिया प्रान्तमा कम्तीमा २७ बालबालिकाको ज्यान गएको छ। ती क्षेत्रमा १३६ बालबालिका घाइते भएका छन् । युनिसेफले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्न युद्धरत पक्षसँग आग्रह गरेको छ । साभारः देशसञ्चार डटकम ।