महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा वाइवा पक्राउ
मकवानपुर प्रहरीले महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल संचालक समितिका सदस्य हिरा वाइवालाई पक्राउ गरेको छ ।
अस्पतालमा कार्यरत २ महिला चिकित्सकले दिएको उजुरीका आधारमा वाइवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले साउन १६ गते त्रिखण्डीमा आयोजना गरेको पिकनिकमा वाइवाले मादक पदार्थ सेवन गरी महिला चिकित्सकलाई अभद्र व्यवहार गरेको जनाईएको छ ।
पिकनिकमै उनको हर्कतबारे प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीहरुले समेत आपत्ति जनाएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरी उनीमाथी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।